सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाइ

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

ब्रसेल्स, १८ फागुन । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् ।
उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताएका हुन् ।  उनले भने, युक्रेनले युरोपियन युनियनको सदस्ताका लागि आग्रह गरेको छ, पक्कै पनि हामी यतिखेर युक्रेनसँग इतिहासमै सबैभन्दा धेरै नजिक भएका छौँ, तर पनि सदस्यता अघि नै त्यहाँ युद्ध रोकिनुपर्छ र यसका कारण हामीले अर्काे चरणको प्रक्रिया सुरु गर्नेछौँ ।
यता रुसले युक्रेनमा हमला रोकेको छैन । गएको करिब हप्तादिन यतादेखि रुसले युक्रेनमा हमला जारी नै राखेको बताइएको छ ।
रुस र युक्रेनका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । युक्रेन र बेलारुसबीचको सीमामा भएको सो वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन ।रुसी र युक्रेनी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन् ।
युक्रेनका अधिकारीले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन् ।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्काे उच्चस्तरीय वार्तामा बस्ने बताएका छन् ।
रुसले युक्रेनको राजधानी सहर किभका साथै अन्य आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको बताइएको छ ।

राष्ट्रसङ्घका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । 
उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए ।
उनले भनेका छन्, युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।

उनले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार जना नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए । उनले मंगलबारसम्मको तथ्याङ्कअनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताए ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार