रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

नेपालमा रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन
मंगलबार, फागुन १७, २०७८

काठमाडौं, १६ फागुन : रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु भएको बीबीसीले जनाएको छ ।  युद्ध अन्त्य गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ । 

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ । शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।

रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित प्रदर्शन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा आज बौद्धमा प्रदर्शन गरिएको हो । बौद्धनाथ चैत्यअघि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरिएको छ ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहामगर, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा, किरण ढकाल र उमा गौतम र पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल उपस्थिती थियो । 
त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत शान्तिवादी अभियानकर्मीको सहभागिता रहेको शाखाका कार्यवाहक सभापति भगवान् पुडासैनीले जानकारी दिए ।
रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै समाजको मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा पनि प्रदर्शन गरिएको थियो । गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियानअन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार