आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेलदै नेपाल

मंगलबार, मंसिर २, २०७७

काठमाडौँ । नेपालले मंगलबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे खेल सुरु हुनेछ । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृंखलाअन्तर्गतको पहिलो खेलमा भने नेपाललाई बंगलादेशले २–० ले हराएको थियो । कात्तिक २९ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरेको थियो । बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए । डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् ।
कतार विश्वकप छनोटको तयारीस्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । कतार विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी रहेको छ ।
नेपालले दुई वर्षअगाडि सन् २०१८ को साफ च्याम्पियनसिपमा बंगलादेशलाई यही मैदानमा २–० ले पराजित गरेको थियो । योसँगै घरेलु मैदानमा बंगलादेश प्रतियोगिताबाटै बाहिरिएको थियो । बंगलादेशले त्यसको बदला लिन सफल भएको छ । बंगलादेशले नेपाललाई हराएको भने यो ५ वर्षपछि पहिलोपल्ट हो । सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपअगाडि बंगलादेशले ढाकामै भएको मैत्रीपूर्ण खेलमा नेपाललाई १–० ले हराएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार