सोसल मिडिया
Contact Us
युनिकोड
किभ, १४ फागुन । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दिएको जानकारीअनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ । देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आमनागरिक पनि हतियारसहित प्रतिकारमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उहाँले अस्वीकार गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उहाँलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन् । अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।” विगतमा हास्यव्यङ्गेयकार तथा अभिनेता समेत रहनु भएका उहाँको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ । जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उहाँले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन् ।
युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन
युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाएका हुन् । “बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ”, उनीहरूले पठाएको सन्देशमा उल्लेख छ । राजकुमार दम्पत्तिले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमतीलाई भेटेको स्मरण पनि गरेका छन् । उनीहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गरेका छन् । “हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्”, उनीहरूले सन्देशमा उल्लेख गरेका छन् ।
युरोपेली सङ्घको सदस्य बनाउन युक्रेनको अनुरोध युरोपेली सङ्घको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली सङ्घको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि सङ्घको सदस्य बनाउन अनुरोध गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल सङ्घको सदस्य बनाउन अनुरोध गरेका हुन् । “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्”, उनले भने, ‘युक्रेन सङ्घको सदस्यको जिम्मेवारी निर्वाह गर्न युक्रेन तयार छ ।’–रासस/एएफपी