कोरोनाविरुद्धको खोपको ५० लाख डोज किन्ने प्रक्रिया सुरु 

मंगलबार, फागुन १८, २०७७

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिदको तयारी सुरु गरेको जानकारी दिएका हुन् । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव अर्यालले उक्त जानकारी दिएका हुन् । ‘थप ५० लाख डोज खोप किन्नका लागि तयारी सुरु गरेका छौं । खोप खरिदको स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गरेको छ’, उनले भने । सचिव अर्यालले खरिद लगायतका काममा जटिलता आएमा समाधान गर्नका लागि वार्ता टोली पनि रहेको बताए । हाल सरकारसँग कोरोना भाइरसविरुद्धका खोप ३० लाख डोज रहेको उनले जानकारी दिए । त्यस्तै कोभ्याक्सले २२ लाख डोज दिने र चीनले पनि कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप दिने भएको उनको भनाइ थियो । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ । त्यसपछि तेस्रो चरणको खोप अभियानमा २०७८ वैशाख ७ गतेदेखि ४० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने पनि सचिव अर्यालले जानकारी दिए । फागुन १० गतेसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना खोप लगाएको र अहिले पनि नेपाली सेना र सशस्त्र प्रहरीले खोप लगाइरहेको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।  कोभिड–१९ विरुद्धको खोपका लगाएका व्यक्तिमा गम्भीर प्रकृतिका असर देखा नपरेको उनले जानकारी दिए । सांसद सरिता न्यौपानेले कोरोना भाइरसविरुद्धको खोप आधारभूत तहसम्म पहुँच हुनुपर्ने बताइन् । उनले अहिलेको व्यवस्थापन राम्रो रहेको र आगामी दिनमा समुदायमा लगाउनुपर्ने भएकाले थप व्यवस्थित हुनुपर्ने सुझाव दिइन् । उपसमिति संयोजक जीवनराम श्रेष्ठले दूरदराजका बासिन्दालाई पनि खोपको व्यवस्था गर्नका लागि अहिलेको भन्दा राम्रो व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले भने, ‘नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा स्थानीय तहको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएमा सहज हुनेछ, यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउँदछु ।’ 

मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने
मोरङमा तेस्रो चरणको कोरोना खोप अन्तर्गत ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा  सामुदायिक तथा निजी विद्यालयका छुट शिक्षकलाई खोप लगाइने भएको छ । तेस्रो चरणअन्तर्गत एक लाख ३५ हजार ४३९ लाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न यही फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरलाई तालीमको व्यवस्था गरिने भएको छ । खोप लगाउने कार्यको  सफल कार्यान्वयनका लागि जिल्लास्थित पालिका, वडा तथा महिला स्वयंसेविकाको बैठक बस्ने भएको छ । सम्पूर्ण स्वास्थ्य केन्द्रमा फागुन २२ गतेसम्म खोप पु¥याइन आवश्यक व्यवस्था गरिएको डा महेताले जानकारी दिए । मोरङ जिल्लामा पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम गएको माघ १५ देखि २४ गतेसम्ममा कोशी कोभिड अस्पताल, रंगेली अस्पताल, मगलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङहोम, विराट वृद्धाश्रम र मोरङ कारागारबाट पाँच हजार ८५९ लाई दिएको थियो । यसैगरी दोस्रो चरणअन्तर्गत खोप कार्य गएको फागुन १ देखि १० गतेसम्म कोशी कोभिड अस्पताल, रंगेली अस्पताल, मंगलबारे अस्पताल, पालिकाको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन संघ मोरङ र वीरेन्द्रसभा गृहमा गरी पाँच हजार ३३४ लाई लाइएको थियो ।  जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १९३  लाई ९२ दशमलव प्रतिशत पाँच प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिए । तथ्यांकअनुसार नेपालमा चार लाख र विश्वमा करिब पाँच करोडले खोप लगाइसकेका छन् । अहिले पनि विश्वका १३० मुलुकमा खोप पाएका छैनन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार