युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

शुक्रबार, फागुन १३, २०७८
Global Ime Bank

वासिङटन, १३ फागुन । रुसले युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् ।  रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्ने गरी र डलर आयातमासमेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको रुसको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।
रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सवर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शन नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रबार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नारा लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए । रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।

नेटोले युक्रेनमा सेना नपठाउने
उत्तर एटलान्टिक सन्धि सङ्गठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवले  दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।
बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिए । उनले यो विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएका छन् । 
साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ– हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ । रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हवाई हमला गरिरहेका छ ।

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको छ । उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको हो । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो । फोनवार्तामा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए । रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ । सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरङ्गका विषयमा केन्द्रित रहेको थियो ।

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने ‘भयानक रकेट आक्रमण’ को निन्दा गरेका छन् । ‘भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो’ कुलेबाले ट्विट गर्दै भनेका छन् । ‘हाम्रो राजधानीलाई पछिल्लो पटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव गरेको थियो’, उनले थप जानकारी दिँदै भनेका छन् । 
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकीमूलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । 
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकूको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

आइसिीसीे युक्रेन सङ्कटबाट चिन्तित
रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् ।  
“मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रम नजिकबाट नियालेको छु,” खानले एक विज्ञप्तिमार्फत बताएका छन् । 
‘यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ’, आइसिसी प्रमुखले भनेका छन् । 
‘आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ’, उनले दुबै पक्षलाई चेतावनी दिँदै भनेका छन् ।– 

युक्रेनलाई आर्थिक सहयोग गर्न विश्व बैंक तत्पर

रुसी आक्रमणमा परेको युक्रेनलाई आर्थिक सहयोग गर्न तयार रहेको विश्व बैंकले जनाएको छ । बैंकले वक्तव्य जारी गर्दै आपतकालीन आर्थिक सहयोग आवश्यक परेमा उपलब्ध गराउन सकिने उल्लेख गरेको हो । 
रुसले आक्रमण गरेकाले युक्रेनमा अहिले रुससँग लड्नका लागि आर्थिक समस्या परेको चर्चा भइरहेका बेला विश्व बैंकले सहयोग गर्ने तत्परता देखाउनुलाई सुखद रुपमा हेरिएको छ । 
‘युक्रेनलाई तत्काल आर्थिक सहयोगको आवश्यकता छ भने हामी सहयोग गर्न तत्पर छौँ’, विश्व बैंकद्धारा जारी वक्तव्यमा लेखिएको छ । युक्रेनको नागरिकको जीवन जोगाउनका लागि बैंकको तर्फबाट योगदान गर्नुपर्ने निष्कर्ष आफूहरुले निकालेको पनि बैंकका उच्च अधिकारीले जनाएका छन् । युक्रेनमाथि रुसले गरेको आक्रमणको घटनाले विश्वभरिकै अर्थतन्त्रमा असर पार्ने भएकाले पनि बैंक सतर्क हुनुपर्ने अधिकारीहरुको भनाइ छ । विश्व बैकका अध्यक्ष डेभिड मालपासले युक्रेनका राष्ट्रपतिलाई मुनिचमा भेटवार्ता गरेका छन् । सो अवसरमा उनले बैंकको तर्फबाट युक्रेनलाई कडा समर्थन रहेको र सहयोग गर्न तयार रहेको उल्लेख गरेका हुन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार