बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

धेरै परिश्रम नपर्ने जिम्मेवारीलाई जारी राख्ने 
आइतबार, फागुन ८, २०७८
Global Ime Bank

लन्डन, ८ फागुन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । “महारानी एलिजाबेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको छ । पन्चानब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको स्रोतले जनाएको छ । 
दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “बकिङघम प्यालेसद्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको छ ।”  विज्ञप्तिमा थप भनिएको छ, “उहाँले हल्का चिसोको लक्षणहरूको अनुभव गरिरहनुभएको छ । यद्यपि आगामी हप्तामा विन्ड्सरबाटै हल्का खालका जिम्मेवारीलाई सम्हाल्नुहुनेछ । उहाँको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्यक निर्देशनहरू पालन गर्नुहुनेछ ।” 
बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत बाहिरिएको हो । 
त्यतिबेला महारानी एलिजाबेथ आफैँले कोभिड परीक्षण गर्नुभएको थियो वा थिएन भन्नेबारे कुनै जानकारी दिइएको थिएन । उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेटेकी थिइन् । उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो । महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ । दरबारले उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यस पहिले नै पुष्टि गरेको थियो ।–रासस/एएफपी

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार