सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन, ७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने दाबी गरेका छन् । अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने वाइडेनको भनाइ छ । रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्नसक्ने उनको दाबी छ । यद्यपि, केही यूरोपेली मुलुक र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीले बताउँदै आएका छन् । यूक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूले निष्तिेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्र लागि परेको र ‘यूक्रेन आक्रमणबारे’ अफबाह मात्र फैलाइरहेको रूसी अधिकारीले दावी गरेका छन् । रुसले युक्रेनका टुक्रिएका पूर्वीक्षेत्रमा बनाबटी सङ्कट खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रको छ । अमेरिकाले एक लाख ६९ हजारदेखि करिब दुई लाख रुसी सैनिक युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आँकलन गरेको छ । त्यसमा पूर्वीयुक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुको सङ्ख्या पनि जोडिएको छ । यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजले युक्रेनमा आगामी दिन वा हप्तामा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधार रहेको बताएका छन् । राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भने, “अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।” यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए । तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए । यसअघि शुक्रवार रूसनिकट मानिने यूक्रेनी नेताले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए । उक्त समाचारलाई युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै खण्डन गर्दै आएको छ । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ । त्यहाँको द्वन्द्वमा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
रुस र युक्रेनबीच बढ्दो तनाबबीच लुहान्स्कमा शक्तिशाली विस्फोट
रुस र युक्रेनबीच बढ्दो तनावबीचमा लुहान्स्कमा “शक्तिशाली विस्फोट” भएको स्पुतनिकले जनाएको छ । विस्फोट ग्यास पाइपलाइन “दुर्ज्भामा”मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन “लिहान्स्कगास”ले विज्ञप्तिमार्फत् जनाएअनुसार आपतकालीन टोली अहिले त्यस क्षेत्रमा उपस्थित छन् । स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ ।
करिब २५,००० लुहान्स्क बासिन्दा रूसको सीमा पारि पुगे डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाले रूसको सीमा पार गरिसकेका छन् । आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआरर स्वयं–घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् । “करिब २५,०००नागरिकले सीमा पार गरेका छन्,” प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्ति निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् । प्रवक्ताले अहिले करिब १०,००० शरणार्थी सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् ।
युक्रेनमा हालैका साइबर हमलामा रुस सङ्लग्न छैनः रुसी दूतावास युक्रेनी बैंकमा हालैका साइबर हमलामा रूसको संलग्नता नभएकोसंयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ । शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले बाइडेन प्रशासनलेरूसले रक्षा मन्त्रालयलगायत युक्रेनी सरकारी संस्थालाई लक्षित गरी साइबर हमला गरेको विश्वास गरे पनि यसमा सत्यता नभएको उल्लेख गरेका छन् । “हामी अमेरिकीे प्रशासनको निराधार आरोपलाई स्पष्टरूपमा अस्वीकार गर्दछौं र उल्लेख गरिएका घटनामा रुस संलग्न थिएन र साइबरस्पेसमा कुनै दुर्भावनापूर्ण कार्य नगरेको कुरामा जोड दिन्छाँ,“ दूतावासले आफ्नो ट्विटर पेजमा उल्लेख गरेको छ । कूटनीतिक नियोगले न्युबर्गरको टिप्पणीलाई रुस विरोधी टिप्पणीको रूपमा व्याख्या गरेको छ ।
युक्रेन विद्रोही नेताद्वारा सामान्य जन परिचालनको घोषणा पूर्वीयुक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्वसोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन् । “म रिजर्भमा रहेका मेरा सँगी नागरिकलाई सैन्य भर्ती कार्यालयमा आउन आग्रह गर्दछु । आज मैले सामान्य जन सैन्य परिचालनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरें,” नेता डेनिस पुशिलिनले एक भिडियो मा उक्त घोषणा गरेका छन् ।–रासस÷एएफपी