सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, ५ फागुन । अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्क सङ्गत आधार नभएको चीनको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्य विपरीत भएको मन्त्रालयको दावी छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दाबी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गरेका छन् । प्रतिवेदनमा संयुक्त राज्य अमेरिकाले चीनको ‘राज्य नेतृत्व, गैर–बजार नीति र अभ्यासहरू’ समाधान गर्न नयाँ रणनीतिहरू खोज्नु र यसका घरेलु व्यापार उपकरणहरू अद्यावधिक गर्नु आवश्यक छ भन्ने दाबी गरेको थियो । चीनले विगत ४० वर्षभन्दा बढीको आर्थिक उपलब्धिले सुधार र खुलापनको सफलताको पुष्टि गरेको गाओले बताए । बजार र सरकारको भूमिकाको प्रभावकारी संयोजन चीनको आर्थिक विकासबाट प्राप्त अमूल्य अनुभव बन्न पुगेको उनले बताए । संयुक्त राज्य अमेरिकाले नयाँ रणनीतिहरू खोज्ने बहानामा ‘एक पक्षीयवाद, संरक्षणवाद र दुव्र्यवहार’को अभ्यास गर्नुको सट्टा विश्व व्यापार सङ्गठनका नियमहरू अनुरूप आफ्नो व्यापारिक गतिविधिलाई सुनिश्चित गर्नुपर्ने गाओले दाबी गरे । संयुक्त राज्य अमेरिकालाई तर्क सङ्गत तथा व्यावहारिक नीतिहरू अपनाउन र चीन–अमेरिका सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरे । उनले भने, “पारस्परिक सम्मान, पारस्परिक लाभ र विजयी सहयोगको सिद्धान्तअन्तर्गत सम्बन्धहरू सही मार्गमा फर्कन्छन्, जुन दुई मुलुकका जनताको आधारभूत हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षा अनुरूप छ ।”–रासस/सिन्ह्वा