स्थानीय तह निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थपिए

बुधबार, फागुन ४, २०७८

बैतडी, ४ फागुन । आगामी  स्थानीय तहको  निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन्् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् ।  जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फँुयालले जिल्लाको पाटन, मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर  तथा डिलाशैनी गाउँपालिकामा  मतदानस्थल थपिएका जानकारी दिए । 
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।   यसैबीच जिल्लाको दुईवटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ । दोगडाकेदार गाउँपालिका–४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको हो ।   विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा नौ बढेर अब १२९ मतदानस्थल भएका छन् । बैतडीमा एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार