सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । कोरोनाभाइरसको अर्काे लहरलाई लिएर भारतमा स्वास्थ्यकर्मीहरू चिन्तित छन् । भारतमा केही महिनासम्म कोभिड–१९ का बिरामीको संख्यामा उल्लेख्य कमी आएपनि फेब्रुअरी महिनामा भने केही राज्यहरूमा सङ्क्रमण दर स्वाट्टै उकालो लागेको छ । फेब्रुअरीको सुरुमा भारतको व्यापारिक राजधानी अमरावती जिल्लामा डाक्टरहरूले एक्कासी कोभिड–१९ का बिरामीको संख्यामा बृद्धि भएको पाए । अघिल्लो वर्ष गर्मी महिनामा सङ्क्रमणको पहिलो लहरपछि महाराष्ट्र राज्यको कपास फल्ने जिल्लामा जनजीवन सामान्य भइसकेको थियो । १,६०० आइसीयु शैय्या रहेको राज्य सञ्चालित अस्पताल र आधा दर्जन निजी अस्पतालहरू लगभग खाली भइसकेका थिए । ‘तर फेब्रुअरीमा सबै परिवर्तन भयो’, स्थानीय पत्रकार अनिल जधवले भने, ‘अहिले जिल्लामा आतंकको अवस्था छ ।’ फेब्रुअरीको सुरुयता अमरावतीमा १० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । ६६ भन्दा बढीको मृत्यु भइसकेको छ । यो साता १ हजार भन्दा बढीले उपचार गरेका छन् । महाराष्ट्रका अमरावती र अन्य जिल्लाहरूमा फेरि लकडाउन लगाइएको छ । ‘बिरामीको संख्या बढ्नुको कारण के हो हामीलाई साँच्चै थाहा छैन । चिन्ताजनक कुरा भनेको पूरै परिवार सङ्क्रमित भइरहेका छन् । यो एकदमै नयाँ अवस्था हो’ उक्त जिल्लाका डाक्टर श्यामसुन्दर निकमले भने । ‘यहाँ मानिसहरू मास्क लगाइरहेका छैनन् । विवाह वा स्थानीय चुनावका लागि अभियान गर्ने जस्ता कार्यमा भीडभाड गरिरहेका छन् । परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पनि कम भइरहेको छ । यसै कारण अहिले सङ्क्रमणको अवस्था यो चरणमा पुगेको हो’, महाराष्ट्र राज्यका कोभिड कार्यदलका सदस्य डाक्टर सञ्जय ओकले भने । सङ्क्रमितको संख्या महाराष्ट्र राज्यमा मात्रै नभइ केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको बताइएको छ । यसले वैज्ञानिक र सरूवा रोगसम्बन्धी विज्ञहरूलाई चिन्तित तुल्याएको छ । ती राज्यका चिकित्सकहरूले पनि महाराष्ट्रकै जस्तो कारणले सङ्क्रमितको संख्या बढेको बताएका छन् । विवाहका ठूला कार्यक्रम हुनु, सिनेमा घर, जिमखाना र स्वीमिङपुलहरू खुल्नु, राज्यहरूमा चुनावी कार्यक्रमहरू हुने कारणले पनि सङ्क्रमण फेरि बढेको विज्ञहरूले बताएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर ललित कान्तले सामान्यीकरणको ‘गलत अन्दाज’ देशभर फैलिएको बताए । ‘हामी बढी सतर्क हुनुपर्छ र भिडभाड हुने ठाउँ खोल्नेबारे सचेत हुनुपर्छ । परीक्षण, ट्रेसिङ र अलग्गै राख्ने काम सबै राज्यहरूमा बृहत् रूपमा बढाउनुपर्छ । हामीले अवस्था थप खराब हुन दिन सक्दैनौं’ डा. कान्तले भने । डाक्टर कान्तले विश्वव्यापी ढाँचा हेरेर केही राज्यमा बिरामी बढ्नु अपेक्षित रहेको बताएका छन् । ‘केही देशहरूमा दुई दिनमहिना केही पनि नदेखिएपछि फेरि बिरामी बढेको देखेका छौं’, उनले भने । रोगको प्रकृतिबारे अनुसन्धान गरिरहेका विज्ञ गौतम मेननले बिरामीको संख्या बढ्नु अपेक्षाकृत रहेकोमा सहमति जनाएका छन् । तर त्यसो भए किन खासगरी महाराष्ट्र र अन्य केही राज्यहरूमा मात्रै पुनः सङ्क्रमितहरू बढिरहेका छन ? मेननका अनुसार एउटै कारण भनेको यी राज्यहरूमा निगरानी बलियो छ । अन्य राज्यहरूमा बिरामीको पहिचान नै नभएको हुनसक्छ ।
एक करोड ४२ लाख भारतीयले लगाए खोप एक करोड ४२ लाख ४२ हजारभन्दा बढी भारतीय नागरिकले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु गर्ने तयारी छ । मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय मन्त्री प्रकाश जवादेकरले बताए । यसैबीच भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोना भाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड सात लाख ६३ हजारभन्दा बढी कोराना मुक्त भएका छन् । सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ५४ लाख ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ७३ हजार ९१८ जना व्यक्तिको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।–एजेन्सी