युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकी राष्ट्रपतिको भनाइ

बुधबार, फागुन ४, २०७८

वासिङ्टन, ४ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् । उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए । उनले भनेका छन्, ‘हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने हुनसक्छ ।’
मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले यदि रुसले युक्रेनमा हमला गर्यो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी पनि दिएका थिए । राष्ट्रपति बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दिएका छन् । उता रुसले भने आफ्ना केही सैनिक फर्कन थालेको घोषणा गरेको छ । तर पनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ छ ।
बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको पनि सो सम्बोधनमा बताए । राष्ट्रपति बाइडेनले आफ्ना सत्रु रुसी नागरिक नभएको स्पष्ट गर्दै तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफू तयार भएर बसेको धारणा राखे ।

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा 

युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिक आफ्नो ग्यारिसनमा फर्किएको बताएको छ ।
मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार दक्षिणी सैन्य जिल्लाका एकाइ, रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि, तिनीको स्थायी तैनाती बिन्दुमा सर्दै छन् । सरकारी टेलिभिजनले रुस नियन्त्रित प्रायःद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैन्य इकाइको तस्बिर देखाएको समाचारमा जनाइएको छ । 
पश्चिमी नेता चिन्तित छन् कि रूसले अझै युक्रेनमा आक्रमण गर्न सक्छ, अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोद्वारा आक्रमणको धेरै सम्भावना रहेको चेतावनी दिनु भएको छ । 
रुसी दाबीको बावजुद वाशिंगटन र यसका सहयोगीले अझै पनि दशौं हजार सेना फिर्ता गर्ने कुरा प्रमाणित गर्न नसकेको बाइडेनले बताएका छन् ।–रासस÷सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार