सीमामा सेना परिचालन बारे रुससहितका राष्ट्रसँग छलफल गर्न युक्रेनको आग्रह

सोमबार, फागुन २, २०७८

किभ (युक्रेन), २ फागुन । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन् । ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताए ।  ‘हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं’ उनले भनेका छन् ।
पछिल्ला केही महिनाहरूमा, पश्चिम र युक्रेनले रसियालाई ‘आक्रमण’ को कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना निर्माण गरेको आरोप लगाएका छन् । मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार भनिरहेको छ यसले कसैलाई धम्की दिएको छैन तर रूसी सिमाना नजिक नाटोको सैन्य गतिविधि बारे भने कडा चिन्ता व्यक्त गरेको छ । रुसले नाटोको यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ ।  अर्कोतिर मस्कोले पनि रुसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ ।

युक्रेनस्थित जापानी दूतावासका कर्मचारीले देश छाड्ने
जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै  देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ। किभस्थित जापानी दूतावासले आइतवार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ । सीमा नजिक मस्कोको सैन्य निर्माण पछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ । जापानी समाचार एजेन्सीका अनुसार शुक्रबार युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ ूकेहीू कर्मचारीहरू मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ । 
यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन् । वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीहरूलाई बाहिरिन आदेश दिएको छ ।–रासस/आइएनएस

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार