बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगे

मंगलबार, माघ २५, २०७८

लण्डन, २५ माघ । बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरू युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरू त्यहाँ पुगेका हुन् ।  युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफूहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन् ।  रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झन्डै आठ वर्षअघि देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो । रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आएको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ । सैनिक तैनाथ भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी युरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन् । तर रुसले उनीहरूको दाबीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २१:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार