इमरान खानले रुसको भ्रमण गर्ने 

सोमबार, माघ २४, २०७८

इस्लामाबाद (पाकिस्तान), २४ माघ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस महिनामा रुसको भ्रमण गर्ने सम्भावना रहेको छ । सो भ्रमण भयो भने २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको रुसको भ्रमण हुने स्थानीय सञ्चारमाध्यमले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको यो भ्रमण हुन लागेको एआरवाई न्युजले जनाएको छ । यस भ्रमणका क्रममा इमरान खानसँग उनको मन्त्रिपरिषद्का मन्त्रीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुनेछन् । मार्च १९९९मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गरेका थिए । गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यसवर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा बाहिर आएको हो । इमरान खानले पुटिनलाई औपचारिक निमन्त्रणा गरिसक्नुभएको एक्सप्रेस ट्रिब्युन अखबारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । पाकिस्तानी अखबारले पुटिनको भ्रमण विगत दुई वर्षदेखि छलफलमा रहेको तर कोभिड–१९ महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताएको छ ।–रासस/एएनआई
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार