दुर्घटनामा एकको मृत्यु

आइतबार, माघ २३, २०७८

मकवानपुर, २३ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौँडा–१० निवासी वर्ष ५१ को बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् । 
उनका अनुसार आज दिउँसो पूर्वपश्चिम सडकखण्डअन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
श्रेष्ठ मोटरसाइकलमा सवार थिए । दुर्घटनापछि घाइते भएका श्रेष्ठलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको र केही बेरमा नै चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मृतक श्रेष्ठले विगत लामो समयदेखि हेटौँडाको सीमा चोकमा चिया पसल सञ्चालन गर्दै आएका थिए । 
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार