सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कफ्र्यू आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारियाे । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना अनुसार, आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म गरी दुई घण्टाका लागि कफ्र्यू खुकुलो पारिएको हो । तर, बिहान ८ः३० बजेपछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू पुनः यथावत रहने प्रशासनले स्पष्ट पारेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गरेमा सुरक्षाकर्मीले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनका अनुसारबिहान ८ः३० पछि घरबाहिर निस्कन, हिँडडुल गर्न र सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।कफ्र्यू प्रभावित क्षेत्रमा कुनै पनि प्रकारको सभा, जुलुस, घेराउ वा प्रदर्शन गर्न पाइने छैन।कफ्र्यूको समयमा पनि एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरूलाई भने कुनै अवरोध नहुने प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यलय गौरका अनुसार पुर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय सम्म कफ्र्यू आदेश जारी रहेको उल्लेख गरेको छ । गौरको सवगढामा दुई पक्ष बीचको झडपका कारण स्थिति तनावपूर्ण बनेपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले शुक्रबारदेखि नै कडा कदम चालेको हो। प्रशासनले सबै नागरिकलाई शान्ति सुव्यवस्था कायम राख्न र सरकारी आदेशको पूर्ण पालना गर्न अपिल गरेको छ ।