घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने 

इन्डोनेसियामा पनि पत्रकारलाई कोरोना खोप लगाउन सुरु
बिहीबार, फागुन १३, २०७७

 

आक्र । घानामा आगामी मार्च २ देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिनेभएको छ । खोप अभियानको सुरुआत भने राष्ट्रपति नाना अड्डो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ ।
राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचीमा परेकाहरूलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए । खोप लगाउनु सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सबैलाई विश्वास दिलाउनका लागि राष्ट्रपतिले आफैँले लगाएर सुरु गर्न लागेको पनि उनलेस्पष्ट पारे ।  राष्ट्रपतिले नै खोप लगाएपछि आम नागरिकहरू पनि खोप लगाउन प्रोत्साहित हुने सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन् । खोप लगाएमा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बुझाउन आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ‘खोप लगाउन पाउनु राम्रो अवसर हो, त्यसलाई उपयोग गर्नुपर्छ भनेर सबैलाई प्रेरित गर्नु आवश्यक छ, खोप लगाएपछि हामी सबै सुरक्षित हुन्छौँ भन्ने पनि बुझाउनु छ’ उनले भने । घानामा बुधबार छ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ । यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो ।   कोरोनाभाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियामा पनि पत्रकारलाई कोरोना खोप लगाउन सुरु

इन्डोनेसियामा पत्रकारहरूका लागि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुआत गरिएको हो । राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिए । इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ । ‘समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानु पर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नु पर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ’, राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरिका सबै प्रदेशहरूमा पनि गरिएको उनले जानकारी दिए ।  कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार