सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २२ माघ । विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिइन् । “आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुन: अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ”, उनले भने ।
राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
चिसोले पाल्पामा एक जनाको मृत्यु
तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो । तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको थियो । अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए ।