स्थानीय तहको निर्वाचन चाँडै घोषणा गर्न एमाले नेता ईश्वर पोखरेलको माग 

शनिबार, माघ २२, २०७८

काठमाडौँ, २२ माघ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गरेका छन् ।  प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन गर्नेसमेत चेतावनी दिए । “स्थानीय तहको निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए”, उनले भने, “पत्रकारले पनि समयमा नै स्थानिय तहको निर्वाचन गर्ने दिशामा कमल चलाउनुपर्दछ ।” उनले मुलुकलाई आर्थिक, विकास र समृद्धि तिर लैजानुपर्नेमा जोड दिए । 
उनले पार्टीले विद्यार्थी, युवा र महिलाबाहेक सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्न निर्देशन दिइएको बताए । उनले ठूलो सङ्गठन संरचना नभई चुस्तदुरुस्त बनाइने बताए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सरकारले संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताए । उनले पत्रकारले अझै पनि समयमा नै तलब नपाउनु परेको पीडा रहेको उल्लेख गर्दै त्यस्ता आम सञ्चारमाध्यममा खबरदारी गर्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशा नै धरमरमा रहेकाले सबै मिलेर जोगाउनुपर्ने बताए । उनले नाम मात्रका पत्रकार तर अर्कै व्यवसाय गर्ने धेरै नै रहेकाले नेपाल पत्रकार महासङ्घले छानबिन गर्नुपर्नेमा जोड दिए । पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अझै पनि पत्रकारले समयमा नै तलब नपाएको बताउँदै महासङ्घ निरन्तर पत्रकारको हकहितका उलागि काम गरिरहेको उल्लेख गरे । 
महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारलाई अहिले पनि काम गरेको तलब पाउनका लागि समस्या भइरहेको बताए । 
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको रक्षाका लागि चौतारीले सधैँ खबरदारी गर्ने बताए । उनले पत्रकारले अहिले पनि श्रमजीवी पत्रकार ऐनअनुसार तलब नपाएकाले सरकारले तुरुन्तै ऐनअनुसार तलब उपलब्ध गराउनुपर्ने बताए 

हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार विष्ट र अर्याललाई 

 प्रेस चौतारी नेपालले स्थापना गरेको पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम घोषणा गरिएको छ । स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चौतारीका पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम घोषणा गरिएको हो ।  चौतारीका अध्यक्ष गणेश बस्नेतले २०७७ र २०७८ सालको पत्रकारिता पुरस्कार पाउने व्यक्तिको नाम घोषणाा गरिएको जानकारी दिए । उनका अनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ ।  अर्याललाई २०७७ र विष्टलाई २०७८ सालको पुरस्कार प्रदान गरिने भएको छ । अग्निशिखा पत्रकारिता पुरष्कार २०७७ सालको कृष्णविनोद लम्साल र २०७८ सालको झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरष्कार २०७७ सालको राजधानी दैनिकका सम्पादक सागर पण्डित र सोही पुरस्कार २०७८ सालको हिरा परियारलाई प्रदान गरिने घोषणा भएको छ ।  वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार २०७७ सालको गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतम र २०७८ सालको अनुप तिवारी, पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार २०७७ सालको अब्दुल्ला मियाँ र २०७८ सालको शिवराज भट्टलाई तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरूङलाई प्रदान गरिने भएको छ । 
आगामी फागुनमा पोखरामा हुने प्रेस चौतारीको महाधिवेशनमा पुरस्कार प्रदान गरिने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार