सुनसरीमा बस र ट्रक ठोक्किएर आगो लाग्दा जलेर तीन जनाको मृत्यु

शनिबार, माघ २२, २०७८

विराटनगर, २२ माघ । सुनसरीको कोसी गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकाको सिमानामा रहेको खुनिया पुलमा शुक्रबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनापछि बस र ट्रकमा आगलागी हुँदा जलेर उनीहरुको मृत्यु भएको हो । 
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक साँझ पौने आठ तिर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार २८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 
दुर्घटनामा परेर ज्यान गुमाउनेमा बस चालक, एक जना यात्रु र ट्रकका चालक छन् । मृतकमध्ये बस चालकको मात्रै नाम खुलेको छ। बस चालक पाँचथरका सुरेन राई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका ट्रक चालक र बसमा सवार एक जना यात्रुको भने सनाखत हुन बाँकी छ ।  प्रहरीले दुई जना मृतकको पहिचानको प्रयास भइरहेको जनाएको छ। तीनवटै शव पोस्टमार्टमका लागि बीपी कोइल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। दुर्घटनापछि बस र ट्रकमा आगलागी हुँदा उद्धारमा समस्या भएको थियो ।  दुर्घटना र आगलागीबाट दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ । 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार