सिरिया द्वन्द्व :'योजनाबद्ध' अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

शुक्रबार, माघ २१, २०७८

सिरिया, २१ माघ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन् । गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ ।

बाइडनले कारबाहीबारे के भने ?
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन् ।
इब्राहिमको अन्त्यले 'विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको' बाइडनले बताएका छन् ।

सिरियामा युद्ध किन ?
अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन् । आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन । टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ ।

पकड क्षेत्र

त्यो जिहादी समूहहरूको पकड क्षेत्र हो । त्यहाँ आईएसविरोधी समूहहरू पनि लडिरहेका छन् भने टर्कीको समर्थन पाएका विद्रोहीहरू सिरियाली सरकारसँग लडिरहेका छन् । सिरियास्थित घटनास्थलमा पुग्ने सहायताकर्मीहरूले उक्त कारबाही गरिएको टोलमा ६ जना बालबालिकासहित १३ जनाको हत्या भएको बताएका छन् । उक्त क्षेत्रमा कैयौँ अमेरिकी हेलिकप्टरहरू उत्रेका थिए र आधा रातमा उक्त कारबाही भएको थियो । स्थानीय स्रोतहरूले अमेरिकी सेनाले त्यहाँ कडा प्रतिरोधको सामना गर्नु परेको बताएका छन् । त्यहाँ घण्टौँसम्म गोलाबारीको आवाज सुनिएको थियो ।
इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिनेगरी भएको कारबाहीपछिको अमेरिकी सेनाको पश्चिमोत्तर सिरियामा भएको यो हालसम्मको सबैभन्दा ठूलो सैन्य कारबाही बताइएको छ । घटनामा निहत्था सर्वसाधारणको ज्यान गएको विवरण आएपछि अमेरिकी राष्ट्रपति बाइडनले कारबाहीमा सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न सक्दो प्रयास गरेको बताएका छन् ।
उनले आईएस समूहका ती नेता सधैँ सर्वसाधारणकको घेरामा रहने भएकाले आफूले अमेरिकी सेनालाई हवाई हमलाको साटो विशेष बलहरूद्वारा छापा मार्ने अधिकार दिएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसका प्रवक्ताले निहत्था नागरिकहरूको हताहतिको विवरणबारे छानबिन हुनु महत्त्वपूर्ण भएको बताएका छन् । अमेरिकी अधिकारीहरूले ती नेता मारिने क्रममा ज्यान जाने सर्वधारणबारे यकिन जानकारी दिएका छैनन् ।-बीबीसी

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार