ललितपुर धापाखेलमा भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव

बिहीबार, माघ २०, २०७८

काठमाडौं, २० माघ । ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  गोदावरी नगरपालिका–१२, धापाखेलस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो । उक्त घर अनिल मण्डलले मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए ।
गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेपछि त्यही घटनालाई पच्छ्उँदा धापाखेलको घटना पत्ता लागेको हो । एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको छ ।
उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट १ जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौं आएको थियो ।  मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो ।
मोरङमा फेला परेको शव काठमाडौं बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भइ धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो । जग्गा कारोबारी उनीहरुबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।  
मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डललाई पक्राउ गरेको थियो ।
उनको बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला परेको हो । यो घरमा लामो समय प्रि–प्राइमरी स्कुल थियो । लकडाउनपछि स्कुलले छाडेको यो घर अनिल मण्डलसहितको समूहले भाडामा लिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार