ग्रीसबाट फिर्ता भएका १२ शरणार्थीको चिसो लागेर मृत्यु : टर्की

बुधबार, माघ १९, २०७८

इस्तानबुल, १९ माघ । ग्रीसको सीमा सुरक्षा गार्डले कपडा खोसेर फिर्ता गरेका १२ जना आप्रवासी शरणार्थीको टर्की र ग्रीसको सीमानामा चिसो लागेर (फ्रस्ट बाइट) का कारण मृत्यु भएको टर्कीका गृहमन्त्रीले बताएका छन् । मन्त्री सुलेमन सोइलुको आरोपले नेटो रक्षा गठबन्धनका प्रतिद्वन्द्वी सदस्यह रूबीच बढ्दो तनाव बढाउने चेतावनी दिएको छ । अफगानिस्तानबाट सम्भावित नयाँ प्रवाहको बाबजुद अनुमानित ५० लाख आप्रवासी र शरणार्थीहरूलाई आश्रय दिएको टर्कीलाई समर्थन गर्न युरोपेली सङ्घले पर्याप्त काम नगरिरहेको अङ्काराको चिन्ता रहेको छ ।  सोइलुले ट्विटरमा सडकको छेउमा जम्मा गरेका लासको अस्पष्ट केही तस्बिरहरू पोस्ट गर्दै आप्रबासी शरणार्थीको मृत्युको पुष्टि गरेका हुन् ।  सोइलुले अङ्ग्रेजीमा लेखेका छन्, “ग्रीक सीमा एकाइहरू ‘लुगा र जुत्ता फुकाली’ नाङ्गो अवस्थामा फिर्ता पठाएका २२ जना आप्रवासीमध्ये १२ जनाको चिसोले मृत्यु भएको छ ।”  यसलाई उनले युरोपेली सङ्घको उपायहीन, कमजोर र मानवीय भावनाको शून्यता बताए ।   ती तस्बिर टर्कीको पश्चिमी सीमावर्ती सहर इपासाला नजिकै खिचिएको सोइलुले बताउनुभयो । क्षेत्रीय गभर्नरको कार्यालयले भने ११ जना आप्रवासी चिसोले जमेर मरेको बताएको छ । फर्काइएका अन्य आप्रवासीहरू भने हिउँको चिसोले घाइते भएको अवस्थामा अस्पतालमा पुगेका र उनीहरूको उपचार भइरहेको टर्कीका अधिकारीले जानकारी गराएका छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार