आर्थिक चुनौतीहरू सामना गर्न भारत सक्षम रहेको दाबी

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गरिन एक घण्टा ३१ मिनेटको बजेट भाषण
मंगलबार, माघ १८, २०७८
Global Ime Bank

नयाँदिल्ली, १८ माघ । भारतमा अर्थमन्त्री निर्मला सीतारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गरेकी छन् ।  मङ्गलबार सङ्घीय संसद्मा गरिएको बजेट भाषण एक घण्टा ३१ मिनेट मात्रको रहेको थियो । जबकी अघिल्लो वर्षको बजेट भाषण एक घण्टा ४८ मिनेटको रहेको थियो । त्यसैगरी सन् २०२० को बजेट भाषण भने दुई घण्टा ४० मिनेटको रहेको थियो । 
अर्थमन्त्री सीतारमणले लोकसभामा मङ्गलबार सन् २०२२—२३ को बजेट भाषण प्रस्तुत गर्दै विभित्र योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेकी छन् । 
मङ्गलबार सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उनले दाबी गरेकी छन् । 
अर्थमन्त्री सीतारमणले आगामी चुनौतीहरू सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गरिन् । भारतले सार्वजनिक लगानी बढाउँदै आधुनिक भौतिक संरचनाहरू निर्माणका लागि कार्यक्रमहरू केन्द्रित गरेको उनको भनाइ थियो । 
आगामी वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र “प्रधानमन्त्री गति शक्ति” कार्यक्रम रहेको पनि उनले जानकारी दिए । 
गति शक्ति कार्यक्रमअन्तर्गत सडक, रेलमार्ग, विमानस्थल, बन्दरगाह, ढुवानी मार्ग, जलमार्गलगायतको विकास, निर्माण र स्तरोत्रति गर्ने योजनाहरू समावेश गरिएको छ ।
भारतको सङ्घीय सरकारको मन्त्रिपरिषद्ले मङ्गलबार नै बजेट प्रस्ताव पारित गर्दै सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।  बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री सीतारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका थिए । प्रस्तुत बजेटका बारेमा सरोकारवाला तथा विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आगामी फेब्रअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने तालिका बनाइएको संसद् सचिवालयले जनाएको छ ।– रासस/एएनआई
   

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार