चार लाख २९ हजारले लगाए खोप

बुधबार, फागुन १२, २०७७

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए । 
सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिलाई माघ १४ देखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।  उनले पहिलो चरणमा एक लाख ८९ हजार ३४५ जनालाई खोप र दोस्रो चरणमा दुई लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको बताए । पहिलो अभियानको खोप ८५.६५ प्रतिशत उपलब्धि हासिल गरिएको छ । मन्त्रालयले पहिलो अभियानमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने योजना बनाएको थियो ।  उनले नेपालको कूल जनसंख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको बताए । पहिलो चरणमा १८९ खोप केन्द्र र दोस्रो चरणमा २२२ खोप केन्द्रबाट खोप प्रदान गरिएको थियो ।  मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ । खोप अभियान सञ्चालनका लागि भारतबाट १० लाख मात्रा खोप नेपाल आइसकेको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार