डा.हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग

आइतबार, माघ १६, २०७८

लमजुङ, १६ माघ । भूगोलविद् डा.हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ । समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उनकी धर्मपत्नी मञ्जुले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गरे । उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गरे । प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब रु ६० लाख लाग्ने अनुमान रहेको बताए । पुस्ताकालय, शालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । मस्र्याङ्दी –७ तराँचे ताङ्लीचोकमा विसं १९९५ पुस २१ गते डा गुरुङ जन्म भएको थियो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना हुँदा उहाँ सहित २४ जनाको निधन भएको थियो ।–रासस

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार