बामपन्थी नेतृ सिओमारा क्यास्ट्रोद्वारा होण्डुरसको पहिलो महिला राष्ट्रपतिका रूपमा शपथ ग्रहण 

शुक्रबार, माघ १४, २०७८

तेगुसिगाल्प, १४ माघ । वामपन्थी नेतृ सिओमारा क्यास्ट्रोले बिहीबार होन्डुरसको प्रथम महिला राष्ट्रपतिको रूपमा शपथ खाएकी छन् । उनले अपराध र गरिबीको चपेटामा परेको राष्ट्रलाई ‘समाजवादी र लोकतान्त्रिक राज्य’मा सुधार गर्ने वचन दिएकी छन् ।  नेतृत्वका लागि भएको करिब एक हप्ता लामो सङ्घर्षपछि ६२ वर्षीया क्यास्ट्रोले आफ्नो अधिकारलाई चुनौती दिने आफ्नो पार्टीभित्रको मतभेदलाई अन्त्य गर्ने प्रतिवद्धतासहित विशाल समारोहबीच शुक्रबार शपथ लिएकी हुन् ।  लिब्रे पार्टीकी क्यास्ट्रोले होण्डुरसमा समस्याका रूपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतनसम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाएकी छन् । गरिबी अन्त्यको योजनामा राजनीतिक सङ्कटले चुनौती थपिरहेका बेला क्यास्ट्रोले शपथ लिएकी छन् । टेगुसिगाल्पा राष्ट्रिय रङ्गशालामा आफ्नो पहिलो आधिकारिक सम्बोधनमा क्यास्ट्रोेले होण्डुरसले सामना गरिरहेको सामाजिक तथा आर्थिक दुःखका चर्चा गदै शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा र रोजगारमा सुधार ल्याउने प्रतिज्ञा गरेकी छन् ।  उनले आफू देशमा भइरहेका गतिविधिबाट ‘दिक्क’ बनेको तर ‘समाजवाद र प्रजातन्त्र’ को अभ्यास गर्दै देशमा सुधारको अनुभूति हुनेगरी काम गर्ने बताए ।  होण्डुरसको सार्वजनिक ऋण करिब १७ अर्ब डलर छ । क्यास्ट्रोले न्यायाधीश कार्ला रोमेरो समक्ष शपथ खाएकी हुन् । समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, स्पेनका राजा फेलिप छैटौँलगायतको उपस्थिति थियो ।– रासस/एएफपी
  
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार