टिग्रेका झन्डै ४० प्रतिशत नागरिकले खाद्यान्नको ‘चरम अभाव’को सामना गर्दै : राष्ट्रसङ्घ 

शुक्रबार, माघ १४, २०७८

अदिस अबाबा, १४ माघ । इथियोपियाको टिग्रेमा झन्डै ४० प्रतिशत मानिसले युद्धको प्रभावका कारण खाद्यान्नको ‘अत्यधिक अभाव’ को सामना गर्नु परेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । खाद्य सुरक्षाको नयाँ मूल्याङ्कन संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को तथ्याङ्कमा १५ महिनाको द्वन्द्वपछि झन्डै ४० प्रतिशत मानिस चरम खाद्यान्नको अभाव भोगिरहेको पाइएको उल्लेख गरिएको हो । इन्धन र आपूर्तिको अभावले गर्दा मानवीय सहायता समूहहरूका गतिविधिहरूमा कटौती गर्न बाध्य हुँदै गएपछि र उत्तरी इथियोपियामा भएको ताजा झगडाले सहायता प्राप्त गर्ने बाटोलाई सीमित गर्दा यो कठिन परिस्थितिको प्रभाव त्यहाका सर्वसाधारणमा परेको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालयले भनेको छ, “यस क्षेत्रका सबै अन्तर्राष्ट्रिय सहायता समूहहरू पूर्णतया इन्धनको पहुँचभन्दा बाहिर छन् र खाद्य सङ्कटको सामना गरिरहेका नागरिकलाई पैदल सहायता पु¥याउने काम गरिएको छ ।  डब्ल्यूएफपीले ८३ प्रतिशत टिग्रेली खाद्यान्न असुरक्षाको सिकार बनेका छन् । 
“परिवारहरूले आफैँलाई खुवाउने सबै तरिकाहरू बन्द भएका छन् । जनसङ्ख्याको तीन चौथाइले बाँच्नका लागि अत्यधिक कठिन परिस्थितिसँग जुधिरहेका छन् ।” 
“खाद्य सामग्री उपलब्ध नहुँदा अनि परिवारहरू अन्नमा मात्र भर पर्दै गएपछि भोजनको मात्रा झन्झनै कम हुँदै गइरहेको छ र कुनै पनि खानेकुरा उपलब्ध हुनका लागि तिनीहरूले दिनहुँ खाने भोजनको मात्रा सीमित हुन्छ ।”
विश्व खाद्य कार्यक्रमले छिमेकी अम्हारा र अफर क्षेत्रहरूमा बढ्दो भोकमरीबारे पनि सतर्क हुन भनेको छ । उक्त क्षेत्र पनि हालैका महिनाहरूमा लडाइँले निकै प्रभावित भएको छ । 
डब्ल्यूएफपीका पूर्वी अफ्रिकाका निर्देशक माइकल डनफोर्डले खानेकुरा र औषधि भएका हाम्रा गाडीहरू अग्रपङ्क्तिमा पुग्ने सुनिश्चित गर्न डब्ल्यूएफपीले सक्दो प्रयासहरू गरिरहेको बताए । 
उनले भने, “हामीलाई मानवीय सहायताका लागि काम गर्न र औपचारिक रूपमा यातायात मार्गमा सहमति हुन द्वन्द्वका सबै पक्षहरूको आवश्यकता पर्दछ र यसबाट भोकमरीको समस्यामा परेका लाखौँ मानिसहरूसम्म पुग्न सहज बन्नेछ । तर यदि वैमनस्यता रहिरहेमा यो सम्भव हुनेछैन ।
सन् २०२० को नोभेम्बरमा टिग्रेमा युद्ध सुरु भयो र संयुक्त राष्ट्रसङ्घले महिनौंदेखि वास्तविक बन्देजको रूपमा वर्णन गरेको ६० लाख मानिसहरूलाई खाद्यान्न अभाब हुँदै गएको छ । 
वासिङटनले अबि अहमद नेतृत्वको सरकारले सहायता रोकेको आरोप लगाएको छ भने अदिस अबाबाले विद्रोही आक्रमणलाई दोषी देखाएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार