कञ्चनपुरका पालिकाहरुको सेवा कोरोना कहरले प्रभावित 

बुधबार, माघ १२, २०७८

महेन्द्रनगर, १२ माघ । कोरोना सङ्क्रमणको तेस्रो लहर समुदायस्तरमा फैलिएपछि कञ्चनपुरका पालिका र स्थानीय प्रशासनको सेवा प्रभावित बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको छ ।  यहाँको भीमदत्त, बेदकोट, कृष्णपुरलगायतका नगरपालिकामा समेत कर्मचारी सङ्क्रमित देखिएपछि सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि गत पुसको अन्तिम साताबाट यहाँ कडाइ गर्न थालिएको थियो । प्रशासनले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने, जुलुश, धर्ना, महोत्सव तथा सामाजिक कार्यमा रोक लगाएको छ ।
त्यसैगरी तीन दिनअघि जिल्ला कोभिड व्यवस्थापन समितिले गड्डाचौकी नाकाबाट अत्यावश्यकबाहेक सामान्य अवस्थामा आगावमन गर्न नदिने निर्णय गरेको छ । सीमामा ओहोरदोहर गर्नै परेर खोप कार्डलगायतका कागजात अनिर्वाय रूपमा देखाउनुपर्ने जनाएको छ ।
भीमदत्त नगरपालिकामा माघको पहिलो साता १६ कर्मचारीमा सङ्क्रमण देखिएपछि एक सातायता नगरपालिकाले आफ्नो सेवा रोकेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशीले यही माघ १९ गतेसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा कोरोनाका कारण स्थगन गरिएको जानकारी दिए । उनले नगरपालिकाको गड्डाचौकीमा परीक्षणका क्रममा सङ्क्रमित देखिएकालाई अस्पताल पु¥याउने, खोप नाकामै लगाउनेलगायतका कार्यमा खटिएको बताए । जोशीका अनुसार नगरपालिकाले स्वास्थ्य कार्यालयसित समन्वय गरेर खोप अभियानलाई पनि अघि बढाएको छ ।
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि कर्मचारी र नागरिकमा कोरोना सङ्क्रमण बढेको भन्दै तीन दिनयता सेवा स्थगन गरेको छ । नगरपालिकाले विज्ञप्ति जारी गरी आगामी शनिबारसम्म सेवा स्थगन गरिएको जनाएको छ ।
यहाँको जिल्ला निर्वाचन कार्यालयले पनि कर्मचारी सङ्क्रमणबाट प्रभावित भएपछि मङ्गलबारदेखि सेवा प्रवाहमा रोक लगाएको छ । निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन गर्नेको भीडभाड रहदै आएको थियो ।
कार्यालयले अर्को सूचना जारी नभएसम्म आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जनाएको छ । मङ्गलबार यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यहाँ मङ्गलबार मात्रै १९५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा १५ जना सङ्क्रमित उपचाररत रहेका छन् भने बाकी अवस्था सामान्य भएपछि होम आइसोलेशनमा बसिरहेका छन् । स्वास्थ्य कार्यालयका कोभिड सम्र्पक व्यक्ति सिद्धराज भट्टले जिल्लामा सङ्क्रमण दर भीमदत्तमा उच्च रहेको छ ।
जिल्लामा पालिकास्तरबाट खोप अभियान सञ्चालन भइरहेको उनले बताए । “अस्पतालमै गएर उपचार गराइहाल्नुपर्ने खालका सङ्क्रमितको सङ्ख्या न्यून नै छ”, उनले भने, “खोपका कारण पनि पहिलो जस्तो गम्भीर खालको सङ्क्रमण देखिएको छैन ।”
यहाँको बेदकोट नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिमा समेत सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत पदमराज भट्टले माघ १७ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जानकारी दिए ।
कृष्णपुर नगरपालिकाले पनि एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले सूचना जारी गरी जनप्रतिनिधि र कर्मचारीमा सङ्क्रमण देखिएकाले सेवा बन्द गरिएको बताए । 
त्यसैगरी यहाँ जिल्ला प्रहरी कार्यालय र मातहतको युनिटले ‘तपाईको मास्क खै?’ अभियान सञ्चालन गरेको छ । प्रहरीले सङ्क्रमण न्यूनीकरणका लागि स्वास्थ्य सामग्री प्रयोग, दूरी कायमलगायतका विषयमा स्वयम् नागरिक सचेत हुनुपर्नेमा जोड दिएको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार