बीमाका लागि सात दिनभित्र सङ्क्रमितको विवरण बुझाउन निर्देशन

सोमबार, फागुन १०, २०७७

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाएको जानकारी दिए । मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । कतिपयले सङ्क्रमित नभए पनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको उनले जानकारी दिए । 
‘कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति र मन्त्रालयका प्रतिनिधि सम्मलित टोलीबाट बीमा दाबी गरेका विमितको विवरण मन्त्रालयको अभिलेखीकरणमा रहेका सङ्क्रमितको विवरणसँग रुजु भइरहेको छ’, उनले भने, ‘तर प्रमाणीकरणको क्रममा कतिपय सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएको छ ।’
मन्त्रालयले यसरी सङ्क्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई सात दिनभित्र आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको उनले जानकारी दिए । प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा सङ्क्रमितको विवरण नपठाएको उनको भनाइ छ । मन्त्रालयले सात दिनभित्र सङ्क्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने जनाएको छ । 
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले अब नियमित रुपमा तोकिएअनुसार सङ्क्रमितको विवरण नपठाए प्रयोगशालाको सम्बन्धन खारेज गर्ने जानकारी दिए । विवरण रुजु गर्दा केही व्यक्तिको विवरण कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडिसिडीमा पठाइएको पाइएको छ । यसरी अगाडि नै पठाएको विवरण कोरोना बीमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको जानकारी उनले गराए । मन्त्रालयले कोरोना बीमाको भुक्तानी दाबी गरेका विमितले विभिन्न संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बीमा दाबीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरण भएका विमितको विवरण के कसो भइरहेको छ भनी स्पष्ट बुझिने र सहज हुने गरी व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।–रासस
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार