सोसल मिडिया
Contact Us
युनिकोड
हेरात, ९ माघ । अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार महिला पनि रहेका छन् । यहाँका प्रान्तीय प्रहरी अधिकारीले सो दुर्घटनामा परेर सातको मृत्यु भएको बताएका छन् । उनका अनुसार घटनामा अरु नौ घाइते पनि भएका छन् । घाइते जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन । शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले पनि लिएको छैन । अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो । तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ । तर पनि यहाँ मानवीय सङ्कटको अवस्था सिर्जना भएका विवरण भने प्रतिदिन आइरहेका बताइएको छ ।– रासस/सिन्ह्वा