सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १० लाख डोज खोप काठमाडौं आइपुगेको जानकारी दिए । फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारतसरकारले अनुदानमा उपलब्ध गराएको खोप नेपाल आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ । टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने छ । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । ८० जनामा कोरोनो संक्रमण पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।