विश्वभर कोभिड–१९ विरूद्ध २० करोड खोप प्रयोग

खोपको अत्यधिक परिणाम धनी राष्ट्रमा
शनिबार, फागुन ८, २०७७

पेरिस । कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्यांक अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको छ । सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतका आधारमा एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेख छ । विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् । ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका  विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको तथ्यांक छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् । विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी–७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसंख्याको १० प्रतिशत जनसंख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जी–७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात ७.५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ । विश्वव्यापी जनसंख्याको आधा भाग रहेका मुलुकहरू, जसलाई विश्व बैंकले उच्च आम्दानी र उच्च–मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेको छ, मा विश्वमा उत्पादन भएका कोभिड–१९ विरूद्धको खोपको ९२ प्रतिशत मात्रा गएको एएफपीलाई प्राप्त विवरणहरूमा उल्लेख छ । विश्वका निम्न आम्दानी भएका २९ मुलुकमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ । देशको कूल जनसंख्याको झण्डै आधा जनसंख्यालाई कोभिड–१९ विरूद्धको पहिलो खोप सेवा दिने मुलुकमध्ये इजरायल अग्रस्थानमा रहेको बताइएको छ । हरेक तीन इजरायलीमध्ये एक जनाले शनिबारसम्ममा दुबै खोप लिइसकेका छन् । देशको कूल जनसंख्याको १० प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप उपलब्ध गराउने मुलुकहरूमा, बेलायत ९२.५० प्रतिशत, बहराइन १६ प्रतिशत, शिसेल ४३ प्रतिशत र माल्दिभ्स १२ प्रतिशत छन् । खोपको मात्रा प्रयोगका हिसाबले अमेरिकामा सबैभन्दा बढी पाँच करोड ९० लाख ६० हजार अर्थात धेरै मात्रा खोप लगाइएको छ । त्यसैगरी फेब्रुअरी ९ सम्ममा चीनमा चार करोड ५० हजार खोप लगाइसकिएको थियो भने भारतमा एक करोड ७० लाख ५० हजार र इजरायलमा ७० लाख १० हजार मात्रा खोपको मात्रा लगाइसकिएको छ ।–एएफपी
 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार