मेरो होइन, नागरिकको उपचार खर्च बेहोर्नुस्

प्रधानमन्त्री ओलीलाई डा.केसीको जवाफ
शनिबार, कात्तिक २९, २०७७

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन् ।  शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले उपचाररत डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने घोषणा गरेलगत्तै डा.केसीले विज्ञप्ति जारी गरी आफूलाई होइन, नागरिकलाई हेर्न सल्लाह दिएका हुन् ।  
‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्य लाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, डा.केसीले शनिबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैं बेहार्छु, बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।’
डा. केसीले कोरोनाबाट संक्रमित विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरूले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’
साथै डा. केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन भएको भए यतिबेला देशका सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र नागरिकले कोरोना साथसाथै सबै रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अवस्था भइसक्थ्यो पनि भनेका छन् ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार