सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा ८७ संक्रमितको भेन्टिलेटर र तीन सय ८७ को आइसियूमा उपचार भइरहेको छ । उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र एक सय ६८ जना आइसियूमा छन् । लुम्बिनी प्रदेशमा आइसियूमा ७१ र भेन्टिलेटरमा एकजना छन् । गण्डकी प्रदेशमा ६९ जना आइसियू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आइसियू र १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । त्यस्तै, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँचजना आइसियूमा उपचाररत छन् । कोरोनाको सामान्य वा मध्यम खालको लक्षण देखिएका संक्रमितलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने अवस्था हुँदैन । उनीहरूको अक्सिजन दिएर वा अन्य चिकित्सकीय सहायतामार्फत उपचार सम्भव छ । तर, गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा गम्भीर लक्षण देखिएका र पहिलेदेखि नै विभिन्न दीर्घरोग भएका व्यक्ति धेरै छन् । त्यसैले मृत्यु घटाउन भेन्टिलेटर र आइसियू महत्वपूर्ण हुन्छ, जसले देशैभर अभाव छ । हाल देशभर ३७ हजार २२ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये २९ हजार ४९ होम आइसोलेसनमा बसेका छन् ।
बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित देशभर कुल कोरोना संक्रमितको संख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको छ । त्यसमध्ये एक लाख १० हजार चार सय १७ संक्रमित बागमती प्रदेशमा देखिएका छन् । बागमती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार यो संख्या देशभरका कुल कोरोना संक्रमितको ५३ दशमलव ८१ प्रतिशत हो । सात प्रदेशमध्ये बागमतीमा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले बताए ।
धेरै संक्रमित काठमाडौंमा बागमतीको १३ जिल्लामध्ये काठमाडौंका सबैभन्दा धेरै ७६ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार ललितपुरका १० हजार नौ सय २६, भक्तपुरका ६ हजार आठ सय २४, चितवनका पाँच हजार आठ सय ९०, मकवानपुरका तीन हजार ६ सय ६४, काभ्रेपलाञ्चोकका दुई हजार चार सय ९७, धादिङका एक हजार तीन सय १८, नुवाकोटका नौ सय ९९, सिन्धुपाल्चोकका सात सय ७२, सिन्धुलीका चार सय ५३, रोमछापका चार सय २१, दोलखाका पाँच सय दुई र रसुवाका एक सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।
मृतक संख्यामा पनि बागमती अघि संक्रमितको संख्यासँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बागमतीमा बढी रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म बागमतीका पाँच सय ८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बागमतीका कुल संक्रमितमध्ये ७७ दशमलव १९ अर्थात् ८५ हजार दुई सय ३८ निको भइसकेको र २२ दशमलव २ अर्थात् २४ हजार पाँच सय ९३ जना उपचाररत रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख सेढाईंले जानकारी दिए । हाल प्रदेशभर दुई सय ८९ संस्थागत क्वारेन्टिनमा, एक हजार दुई सय ५१ होम क्वारेन्टिनमा, तीन हजार ६ सय ३१ संस्थागत आइसोलेसनमा र १९ हजार १५ जना होम आइसोलेसनमा बसिरहेको मन्त्रालयले जनाएको छ । हालसम्म हेटौँडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ३२ हजार एक सय २९ जनाको स्वाब परीक्षण गरिएको छ ।