सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो । जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन् । महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि खाली पदमा सात पटकको ओलम्पियन हाशिमोतो चयन भएका हुन् । ‘स्पीड स्केटिङ्’ र ‘स्प्रिन्ट साइक्लिस्ट’मा सात पटकसम्म जापानको प्रतिनिधित्व गरी ओलम्पिकमा सहभागिता जनाएका हासिमोतो जापानको मन्त्रिपरिषद्मा दुई जना महिलामध्ये एक थिए । उहाँले खेलको जिम्मेवारी सम्हाल्ने निश्चित भएपछि बिहीबार नै प्रधानमन्त्री समक्ष मन्त्री पदबाट राजिनामा दिएका थिए । महिलामाथि लैङ्गिक विभेद् गरेको भनिएको मोरीको अभिव्यक्तिलाई लिएर जापानका साथै विश्वभर उनको कडा आलोचना भएपछि मोरीले राजिनामा दिन बाध्य भएका थिए । जिम्मेवारी टोकियो २०२० खेलको प्रमुख पद सम्हालेपछि हासिुमोतोले भने, ‘खेलको सफलताका लागि मेरो प्रयास रहने छ ।’ खेल सफलताका लागि कोरोना भाइरसको महामारी प्रमुख चुनौती रहेको तर खेलका स्वदेशी तथा विदेशी सहभागी तथा दर्शकको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने उनले बताए । टोकियो २०२० का उपाध्यक्ष तासियाकी एन्डोले नयाँ प्रमुखलाई स्वागत गर्दै भने, ‘खेलको पाँच महिनाअघि मोरीको प्रस्थान तयारीको दृष्टिकोणबाट अत्यन्त दुःखद् हो ।’ उनले थप्नुभयो, ‘हामीले नयाँ प्रमुखबाट चाँडोभन्दा चाँडो कुनै निर्णय लिनु पर्छ र यो उपयुक्त प्रक्रियाबाट पारित हुनु आवश्यक छ किनकि यस मुद्दाले देश र विदेशमा ध्यान आकर्षित गरेको छ ।’