गर्भवतीको हवाई उद्धार

आइतबार, पुस १८, २०७८

खोटाङ, १८ पुस । डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ  रिफर गरेको जनाइएको छ । । 
काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए।  आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।

गर्भवतीलाई पौष्टिक आहार उपहार
बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।
साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिए । “गर्भवती भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाइका सामग्री उपहार दिने गरिएको छ”, उनले भने, “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको समेत उपस्थितिमा बस्ने बैठकमा टोलका विकास र सामाजिक गतिविधिदेखि हजार दिनका आमा बच्चाको स्वास्थ्य, पोषण र सरसफाइ विषयमा छलफल गर्छौँ ।”
समूहका बैठकमा सहभागी भएर सिकेको ज्ञानले बुहारी गर्भवती र सुत्केरी हुँदा स्याहारसुसार गर्न सजिलो भएको रत्नेचौर उपल्लाचौरकी देवी थापामगरले बताए । उनकी बुहारी कमला दुई महिनाअघि सुत्केरी हुनुभएको थियो । आमा समूहको बैठकमा नियमित सहभागी हुने रत्नेचौर उपल्लाचौरकी सीता थापा दुई महिनाअघि सुत्केरी हुनुभएको थियो । आमा समूहले दिने सहयोगले गर्भवती अवस्थामा हौसला मिलेको, आत्मबल बढेको र सिकेका ज्ञान बच्चा र आफ्नो स्वास्थ्यका लागि उपयोगी भएको थापाले बताए । 
रत्नेचौरका जनप्रतिनिधिले आमा समूहको मागअनुसार पोषण प्रवद्र्धन र सचेतना अभिवृद्धिका लागि बजेटको समेत व्यवस्था गरेका छन् । आमा समूहको सक्रियता र पोषणसम्बन्धी कार्यक्रम बच्चा र आमाको स्वास्थ्य अवस्था सुधार तथा कुपोषण न्यूनीकरणमा प्रभावकारी बनेको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए । उनले स्वास्थ्य स्वयंसेविका प्रोत्साहन तथा पोषण सुधारका लागि चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरिएको जानकारी दिए। विगतका वर्षमा पनि सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो । सो बजेटबाट महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका साथै वडाका गर्भवतीलाई पौष्टिक र सरसफाइका सामग्री लिएर जनप्रतिनिधिले घरभेट गर्ने गरिएको वडाध्यक्ष रावलले बताए । 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार