मकवानपुरमा १९१८ जना निर्वाचन प्रहरीलाई बिदाइ

शुक्रबार, फागुन २९, २०८२

हेटौँडा । मकवानपुर जिल्लामा निर्वाचन सुरक्षामा खटिएका १९१८ जना निर्वाचन प्रहरीलाई एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई प्रमाणपत्र तथा टिका प्रदान गर्दै सम्मानसहित बिदाइ गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले निर्वाचनको अवधिभर सुरक्षामा खटिएर जिम्मेवारी पूरा गरेका प्रहरीलाई धन्यवाद दिँदै भविष्यमा पनि राष्ट्र र नागरिकको सुरक्षाका लागि यस्तै समर्पण आवश्यक रहने उल्लेख गरे । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीले निर्वाचनका क्रममा निर्वाचन प्रहरीले दिएको सहयोग अतुलनीय एवं प्रशंसनीय रहेको बताए । उनले कुनै पनि समयमा प्रहरीलाई आवश्यकता परे निर्वाचन प्रहरीको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गर्दै सुरक्षाका कार्यमा सबै निकायबीच समन्वय अत्यन्त महत्वपूर्ण रहेको बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनलाई सुरक्षित बनाउन खटिएका १९१८ जना निर्वाचन प्रहरीको जिम्मेवारी पूरा भएपछि औपचारिक रूपमा बिदाइ गरिएको हो । कार्यक्रममा प्रहरी अधिकृत, कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार