कर्मचारी सरुवा–बढुवाका निर्णय पीआईएस प्रणालीमा स्वतः अद्यावधिक हुने

शनिबार, फागुन ३०, २०८२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखानाबीच कर्मचारी सरुवा तथा बढुवासम्बन्धी निर्णयहरू पीआईएस (पर्सनल इन्फर्मेसन सिस्टम) मा स्वतः अद्यावधिक हुने व्यवस्था गर्न समझदारी भएको छ । राष्ट्रिय किताबखाना र मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबीच रियल टाइम सूचना आदान–प्रदान गर्ने तथा सरुवा, बढुवा सम्बन्धी निर्णयहरू पीआईएस प्रणालीमा स्वतः अद्यावधिक हुने गरी एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) विकासमार्फत सूचना साझेदारी गर्ने समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरिएको हो । सम्झदारीपत्रमा मन्त्रालयका तर्फबाट सहसचिव पार्वती शर्मा र राष्ट्रिय किताबखानाका तर्फबाट महानिर्देशक श्रवणकुमार पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झदारीअनुसार सरुवा, बढुवा लगायत कर्मचारी प्रशासनसम्बन्धी निर्णयका लागि आवश्यक इनपुट (रियल टाइम पीआईएसको उपयोग गर्न सकिने लाइभ पहुँच) राष्ट्रिय किताबखानाले उपलब्ध गराउनेछ । मन्त्रालयले गरेका निर्णयहरू भने एपीआईमार्फत स्वतः पीआईएस प्रणालीमा अपडेट हुने व्यवस्था गरिनेछ । राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलका अनुसार दुवै निकायका प्राविधिक टोलीले संयुक्त रूपमा विकास गरिरहेको कर्मचारी व्यवस्थापन प्रणाली (सफ्टवेयर) प्रयोगमा ल्याउने बाटोसमेत यस समझदारीले खोलेको छ । उनले सार्वजनिक सेवालाई प्रविधिमा आधारित फेसलेस र पेपरलेस प्रणालीतर्फ उन्मुख बनाउन मन्त्रालयसँग भएको यो साझेदारी महत्वपूर्ण माइलस्टोन (कोसेढुङ्गा) सावित हुने विश्वास व्यक्त गरेका छन् ।

PIS-1773470324.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार