राष्ट्रिय भारोत्तोलन यसै महिना हुने

बिहीबार, पुस १५, २०७८

काठमाडौँ, १५ पुस । नेपाल भारोत्तोलन सङ्घको आयोजनामा २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुनेछन् ।
जुनियर÷सिनियर तथा युथ पुरुष÷महिलातर्फ विभिन्न ४० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोबास र यातायात खर्च आयोजक सङ्घले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेल मध्यपुरथिमि नगरपालिकाको थिमि बैंक्वेटमा हुनेछ । अध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे । 
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

शीर्ष वरियताका सलोनी तामाङलाई टेनिसमा दोहोरो उपाधि
नेपालका शीर्ष वरियताका सलोनी तामाङले पोखरामा आज टेनिस प्रतियोगितामा एकैपटक दुईवटा उपाधि जित्न सफल भएकी छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी १८औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा उनले महिला एकल तथा ‘डबल्स’मा गरी दुई उपाधि चुम्न सफल भइन् । महिला एकलतर्फ तामाङले गङ्गा शर्मालाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन् । डबल्सतर्फ सलोनी र माहिका राणाको जोडीले सुभाङ्गी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१ र ६–३ को नतिजा निकाल्दै उपाधि जितेको हो । प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि अक्की जुवेन रावत र आरब सम्राट हाडाको जोडीले जितेको छ । फाइनल खेलमा सो जोडीले प्ररण खनाल र जितेन्द्र परियारको जोडीलाई ७–६ र ६–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।
यसैगरी ३५ वर्षमाथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हासिल ग¥यो ।  राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसँगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकालेको थियो । पुरुषतर्फ ५५ वर्षमाथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्दै विमल गुरुङले उपाधि आफ्नो पक्षमा पारिन् । प्रतियोगितामा ५५ वर्षमाथिको डबल्स प्रतिस्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडीले उपाधि जितेको छ ।
प्रतिस्पर्धात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ सङ्घर्षपूर्ण जित हासिल ग¥यो । पैँसठ्ठी वर्षमाथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङलाई ४–० र ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । प्रतियोगिताको मुख्य इभेन्ट पुरुष ‘ओपन’को उपाधिका लागि शुक्रबार पोखरेली खेलाडी प्रदीप खड्का र आरब सम्राट हाडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रदीपले अकि जुवेन रावतलाई ७–५ र ६–२ ले तथा आरबले प्ररण खनाललाई ६–२ र ६–४ अङ्कले पराजित गर्दै उपाधि भिडन्त निश्चित गरे । पैँतीस वर्षमाथिको एकलतर्फ सन्तोष खत्री र भीष्म गुरुङबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने ४५ वर्षमाथिको एकलतर्फ विमल गुरुङ र चन्द्र शाहीबीच फाइनल खेल हुने प्रतियोगिता हुने संयोजक नवीन चालिसेले जानकारी दिए ।
यसैगरी ४५ वर्षमाथिको ‘डबल्स’तर्फ उपाधिका लागि विनोद कायस्थ र विकास गुरुङको जोडीले हिमाल शाह र राजु क्षेत्रीको जोडीसँग खेल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष एकल÷डबल्स, महिला एकल÷डबल्स र ३५, ४५ र ५५ वर्षमाथि पुरुष एकल÷डबल्स र ६५ वर्षमाथि पुरुष एकल गरी विभिन्न ११ विधामा १३० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
‘ओपन’तर्फ महिला तथा पुरुष एकलमा विजेताले रु ८० हजार र उपविजेताले रु ४० हजारसहित ट्रफी तथा सेमिफाइनलमा पुग्नेले रु १० हजारसहित मेडल प्राप्त गर्ने छन् । महिला तथा पुरुष ‘डबल्स’तर्फका विजेताले रु ३० हजार र उपविजेताले रु १५ हजारसहित ट्रफी र सेमिफाइनलमा पुग्नेले रु १० हजार पुरस्कार प्राप्त गर्ने सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिए । यसैगरी ३५ वर्ष उमेरमाथिको एकल विजेताले रु ६० हजार, उपविजेताले र ३० हजारसहित ट्रफी र सेमिफाइनलमा पुग्नेले रु १० हजार पुरस्कार पाउनेछन् । पैँतीस वर्षमाथिको डबल्सतर्फको विजेताले रु २० हजार र उपविजेताले रु १० हजार र सेमिफाइनल पुग्नेले पनि रु १० हजार पुरस्कार पाउनेछन् । आयोजकका अनुसार ४५ वर्षमाथिको एकलतर्फको विजेतालाई रु ४० हजार, उपविजेतालाई रु २० हजार र सेमिफाइनलमा पुग्नेलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ भने डबल्सतर्फ विजेताले रु २० हजार, उपविजेताले रु १० हजार र सेमिफाइनलिष्टले रु १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
यसैगरी ५५ वर्षमाथिको एकलतर्फका विजेताले रु ३० हजार, उपविजेताले रु १५ हजार तथा सेमिफानललिष्टले रु १० हजार पाउनेछन् । डबल्सतर्फका विजेताले रु २० हजार र उपविजेता र सेमिफाइनल प्रवेश गर्नेले समान रु १० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पैँसठ्ठी वर्षमाथिको एकल विजेताले रु १५ हजार र उपविजेताले रु १० हजार पुरस्कार पाउनेछन् । पर्यटकीय सहर पोखरालाई खेल पर्यटनको माध्यमबाट विश्वसामु परिचित गर्दै लैजाने अवधारणाअनुसार १८ प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ । 

राष्ट्रपतिबाट नेपाल स्काउटका माष्टरलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल स्काउटका बिटिसी र पिटिसी तालिमप्राप्त कर्णाली प्रदेशका स्काउट मास्टरले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । ती स्काउटकर्मीले नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा उक्त तालिम लिएका थिए । 
राष्ट्रपति भण्डारीले ती विद्यार्थीलाई बधाई दिँदै देश विकासको यात्रामा सकारात्मक योगदान दिने र युवालाई उत्साहित बनाउने काममा सफलता मिलोस् भनी शुभकामना दिएकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल स्काउटको नेतृत्वसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले पछिल्लो समयमा गरेको फैसलाको आफूले सम्मान गर्ने पनि बताइन् । 
सो अवसरमा स्काउट तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारले आफूलाई पदबाट हटाए पनि अदालतको आदेशबाट पुनःबहाली भई पुनः सक्रियतापूर्वक काम थालेको अवगत गराएका थिए ।    
यही पुस ९ गतेदेखि १४ गतेसम्म भएको उक्त तालिममा कर्णाली प्रदेशका ७९ स्थानीय तहबाट १८० पुरुष र ६१ महिला गरी २४१ जनाको सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार