कोभिशिल्ड खोपको प्रभावकारिता ७८ प्रतिशत 

ढुक्क भएर लगाउन आग्रह
सोमबार, फागुन ३, २०७७

काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे । उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैं हराएर जाने बताए । उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले खोप लगाएकामध्ये कोही पनि सिकिस्त विरामी हुनु नपरेकाले खोप लगाउन अनुरोध गरे । उहाँले पहिलो पटक खोप लगाउँदा यसले शरीरलाई चिनेर काम गर्न थाल्ने  र दोस्रो पटक लगाउँदा रोग प्रतिरोधात्मक क्षमता बनाउने बताए । ‘खोप लगाउँदा फेरि सङ्क्रमण भएपनि मृत्यु नहुने र जटिल अवस्थामा पु¥याउदैन’ उनले भने, ‘दोस्रो पटक चार÷पाँच हप्तामा खोप लगाउँदा रोगसंग लड्ने क्षमता बढाउँछ ।’ अस्पतालका प्रवक्ता डा बाँस्तोलाले खोप लगाएपनि स्वास्थ्यका मापदण्ड मास्क, सामाजिक दूरी कायम राख्नुपर्ने र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न सुझाव दिएका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कोभिड–१९ विरुद्ध बनेका भारत, रसियालगायत देशबाट खोप दर्ता गर्नका लागि निवेदन आएको भन्दै ती खोपको गुणस्तर र प्रभावकारिता हेरेर मात्र अनुमति दिने बताए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड–१९ ले नेपालमा महामारीको बेला कसरी काम गर्न सकिन्छ भनेर पाठ सिकाएको भन्दै स्वास्थ्यकर्मी राम्रोसंग काम गर्दा कोभिड–१९ बाट धेरै क्षति व्यहोर्नु नपरेको बताए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गरेको उल्लेख गरे । उनले अन्य देशको तुलनामा सरकारले कोभिड–१९ लाई नियन्त्रण गरेको दावी गरे । उनले नेपालमा शुरुमा सङ्क्रमण हुँदा एउटामात्र परीक्षण गर्ने प्रयोगशाला भएकोमा अहिले ८३ वटा प्रयोगशाला भएको बताए ।    
अधिकांश सङ्क्रमित उपत्यकामा
पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् । बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ । अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । कोरोना मुक्त हुनेको दर ९८.७ प्रतिशत पुुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण दुुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट दुुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।–रासस
 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार