आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा

बिहीबार, पुस ८, २०७८

काठमाडौं,  ७ पुस : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ ।

प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । 

पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।

नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता प्रतियोगितामा रहने बताइएको छ ।

 प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ ।

वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटनको प्रवर्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महासचिव श्रेष्ठले कोभिड महामारीले थलिएको पर्यटनलाई माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने धारणा व्यक्त गरिन् । 

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार