घर घर पुगेर कोरोना संक्रमित खोज्दै ललितपुर महानगर

संक्रमण नियन्त्रण गर्न वडा स्तरीय समूह गठन गर्ने 
शुक्रबार, कात्तिक २८, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले कोरोनाभाइरस संक्रमण नियन्त्रणकालागि प्रत्येक वडामा कोभिड सहजिकरण समूह गठन गर्ने भएको छ । महानगरमा २९ वटा वडा रहेका छन् । 
स्वास्थ्यतथा जनसंख्या मन्त्रालय र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको बैठकपछि ललितपुर महानगरले कोभिड सहजिकरण समूह गठन गर्न लागेको हो । यो समूहले वडाको टोल टोलमा पुगेर घरैपिच्छे कोरोना संक्रमित भएनभएको अनुगमन गर्नेछ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले समूहको गठन राम्रो अवधारणा भएको बताउँदै सहजिकरणसमूह गठन गर्न पत्राचार गर्ने बताए । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएका र नदेखिएकाहरु स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई घरमै बसिरहेका छन् । जसले गर्दा कोरोना संक्रमणको फैलावट व्यापक भएको विज्ञहरुले बताएका छन् । 
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, सिआइसिटी संयोजक महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताए । 
उक्त समूहले टोल टोलमा पुगेर घरपिच्छे बिरामी भए–नभएको, कस्तो खालका बिरामी भएको एकिन गर्ने बताए । यो समूहलले संक्रमण दर घटाउन सहयोग गर्ने स्पष्ट पारे । कोरोना नियन्त्रणका लागि सरकारले सञ्चालन गरेका गतिविधि र नियममात्रै पर्याप्त नहुने बताउँदै उनले भने, ‘यो भाइरस संक्रमण नियन्त्रणका लागि व्यक्ति व्यक्तिको सतर्कता आवश्यक छ , त्यसो भए संक्रमण नियन्त्रण गर्न सकिन्छ ।’ टोलका मान्छेहरु जाग्नुपर्नेधारणा उनले राखे ।
कोरोना संक्रमणको संख्या बढेपनि मृत्युदर कमभएको उल्लेख गर्दै उनले यो समूह प्रभावकारी हुने स्पष्ट पारे । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. अमृत पोखरेलले कोभिड सहजिकरण समूहको अवधारणाबारे बताउँदै एक समूहले धेरैमा ५० घरको निगरानी गर्नुपर्ने बताए । उक्त समूहमा महिला स्वास्थ्य स्वयसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरु प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ । डा.पोखरेलका अनुसार उक्त समूहले स्व एकान्तवासमा बसे नबसेको अनुगमन गर्ने, उनीहरुको पहिचान गरी नगरपालिकासँग समन्वयगर्नेलगाएका विषयमा काम गर्नुपर्नेछ । 
कार्यक्रममा ललितपुर महानगरपालिकाका कोभिड फोकल पर्सन देवी थापा गुरुडले कोरोना संक्रमण नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले गरेको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । 
बैठकमा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो । त्यसैगरी महानगरको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जन,  वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक गणेश केसी, पूर्वाधार विकास समितिका संयोजक चन्द्रलाल महर्जन, आर्थिक समितिका संयोजक रविन्द्र महर्जन, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, महानगरका प्रवक्ता राजु महर्जनको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार