प्रधानमन्त्री कप : प्रदेश एक विजेता बन्दा लुम्बिनी उपविजेता

मंगलबार, पुस ६, २०७८

काठमाडौं, ६ पुस । लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रदेश नम्बर एक धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए ’को विजेता बनेको छ । मंगलबार सम्पन्न खेलमा प्रदेश एकले प्रस्तुत गरेको ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ४७ रनमा समेटिएको हो । लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले समान ९ रन बनाए ।  प्रदेश एककी कप्तान रुविना क्षेत्रीले तीन विकेट लिँदा अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिए । यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङका लागि आएको प्रदेश एकले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११४ रन बनाएको थियो । प्रदेश एकका लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाउँदा काजोल श्रेष्ठले ४० रनको योगदान गरिन् । लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट लिए । प्रदेश एककी कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन् । समूह ‘ए’ बाट प्रदेश एक समूह विजेता बन्दा लुम्बिनी समूह उपविजेता बन्यो ।  कर्णाली प्रदेश र वागमती प्रदेश भने जितविहीन रहेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार