खेलाडीको कारबाहीमा सिप्यानको आपत्ति

सोमबार, पुस ५, २०७८

काठमाडाँ, ५ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको छ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो । 

क्रिकेट खेलाडीको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको स्मरण गराउँदै सिप्यानले खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
त्यसैगरी सिप्यानले क्रिकेट खेलाडीको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत, त्रुटिरहित, तथ्यपरक र वैज्ञानिक बनाइनुपर्ने मागसमेत गरेको छ । क्यान र खेलाडीको बीचमा रहेको यस विषयसँग सम्बन्धित तीक्तता मेटाई खेलाडीको मनोबल उच्च बनाउनाका साथै नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

एसिया कप खेल्न जाने टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । 
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं क्यानका पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरेका हुन् । नेपाली टोली आज राति १० बजे युएईतर्फ प्रस्थान गर्नेछ । 
यही पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यु–१९ एसिया कप क्रिकेटमा आयोजक युएइसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, कुवेत, भारत, अफगानिस्तान र पाकिस्तान गरी आठ राष्ट्र सहभागी छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्यसमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले आफनो पहिलो खेल यही पुस ८ गते बङ्गलादेशसँग खेल्नेछ भने दोस्रो खेल पुस ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यसैगरी नेपालले समूह चरणको अन्तिम खेल पुस १३ गते कुवेतसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 
नेपाली टोलीमा देव खनाल (कप्तान), शेर मल्ल उपकप्तान, दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् । प्रशिक्षकमा भने वसन्त शाही ठकुरी छन् । 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार