साफ यु १९ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

आइतबार, पुस ४, २०७८

काठमाडौँ ४ पुस ।  बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आज  भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् । उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो  ।  यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता थियो । अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ । बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अङ्क रहेको छ ।

भलिबल टोलीको बिदाइ
युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । बङ्गलादेशमा यही पुस ६ देखि १४ गतेसम्म आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई राष्ट्रिय झण्डा प्रदान गर्नुभयो । नेपाली टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् । 
कार्यक्रममा खेलकूदमन्त्री गहतराजले खेलाडीको खेल जीवनपछिको अवस्थाका बारेमा मन्त्रालयले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताए ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार