ज्ञानेन्द्र मल्लको कप्तानी खोस्दै सन्दीप लामिछानेलाई जिम्मा 

राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीमाथि क्यानको अनुशासन कारबाही  
बुधबार, मंसिर २९, २०७८

काठमाडौँ, २९ मङ्सिर । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानको आज बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो । 
क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णयसमेत लिएको छ । ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । 
सन्दीपले नेपाली यु १९ राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरिसकेका छन् । त्यस्तै उनले  इन्डियन प्रिमियर लिग (आइपिएल) देखि बिग ब्यास लिगसम्म खेलिसकेका छन् । 
खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही वरिष्ठ खेलाडीको गुनासो रहेको थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो ।
त्यसैगरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुस ६ गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णयसमेत गरेको छ । 
रमेश सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज परिषद्का सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । सरकारको सिलवाललाई हटाएर टङ्क घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए । अदालतले आगामी पुस १२ दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको छ ।
सर्वोच्च अदालतले यसअघि ओली सरकारले नियुक्ति गरेको तर वर्तमान सरकारले हटाएको नेपाल स्काउटका लोकबहादुर भण्डारी, युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा कृष्णप्रसाद ओलीलाई पुनर्बहाली गरेको छ । अदालतको आदेशसँगै सदस्य सचिवका रूपमा सिलवाललाई काम गर्न बाटो खुलेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  २३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार