टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

शुक्रबार, माघ ३०, २०७७

टोकियो । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिए । मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । उनले ‘महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्’ भनेका थिए । मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागेका छन् । तर उनको बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ । 
मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्तिको चर्चा गरिएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार