थप १६० मा कोरोना पुष्टि

मंगलबार, माघ २७, २०७७

काठमाडाै‌ । थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ ।   
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ८७ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ सङ्क्रमित आइसियुमा तथा १५ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।  

थप दुईको मृत्यु 
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।   
शिक्षकलाई खोप लगाउने तयारी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो । यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरू८८लाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार